रौतहट, फागुन १९ । रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपेडामा शंकास्पद वस्तु फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। बिहानै सडक छेउमा राखिएको शंकास्पद वस्तु देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारणको आवतजावत नियन्त्रणमा लिएको छ।
घटनाको प्रकृति गम्भीर देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ। नारायण दल गणबाट खटिएको सेनाको टोलीले शंकास्पद वस्तुको जाँच तथा आवश्यक परे निस्क्रिय पार्ने तयारी गरिरहेको जनाएको छ।
यसअघि सोमबार नै रौतहटको राजपुर नगरपालिका–६ मा पनि शंकास्पद वस्तु फेला परेको थियो, जसलाई सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको थियो।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा एक–एक वटा बम डिस्पोजल टोली तथा गौर–चन्द्रपुर सडक खण्डका लागि छुट्टै एक टोली परिचालन गरेको जनाएको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शंकास्पद वस्तु देखेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।






