काठमाडौं, फागुन २६ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीको प्रशंसा गर्नुभएको छ।
सोमबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयका प्रमुख, प्रहरी अधिकृत र जवानलाई सम्बोधन गर्दै आईजीपी कार्कीले निर्वाचन अवधिमा प्रहरीले देखाएको समर्पण र सक्रियताले संगठनको प्रतिष्ठा थप उचो बनाएको बताउनुभयो।
उहाँले सीमित साधन–स्रोत, भौतिक पूर्वाधारको अभाव तथा प्रहरी कर्मचारीको मनोबल र क्षमताबारे विभिन्न टिकाटिप्पणी भइरहेका अवस्थामा पनि प्रहरी कर्मचारीले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ काम गरेको उल्लेख गर्नुभयो। त्यसले निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित बनाउन ठूलो योगदान पुगेको उहाँको भनाइ थियो।
आईजीपी कार्कीले प्रहरीको निरन्तर सक्रियता र क्रियाशीलताकै कारण समाजमा शान्ति–सुरक्षा कायम राख्न सम्भव भएको बताउँदै आ–आफ्नो जिम्मेवारी अनुसार योजनाबद्ध रूपमा कार्यसम्पादन गर्ने सबै प्रहरी कर्मचारीको उच्च प्रशंसा गर्नुभयो।
आगामी दिनमा सबै निकायबीच सहकार्य र समन्वय बढाउँदै सुरक्षा व्यवस्थापनलाई अझ मजबुत बनाउन आवश्यक रहेको उहाँले जोड दिनुभयो।
प्रहरी पेशा केवल जागिर मात्र नभई सेवा पनि भएको उल्लेख गर्दै आईजीपी कार्कीले सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता र दृढ अनुशासन प्रहरीका लागि अत्यावश्यक गुण भएको बताउनुभयो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको लक्ष्यप्रति केन्द्रित भई सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गर्न उहाँले प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।






