ट्रम्पको अभिव्यक्तिपछि इरानको कडा प्रतिक्रिया : ‘युद्ध कहिले अन्त्य गर्ने हामी नै तय गर्छौं’



एजेन्सी, फागुन २६ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को युद्ध अन्त्यसम्बन्धी अभिव्यक्तिमा कडा प्रतिक्रिया दिएको छ। तेहरानले युद्ध कहिले अन्त्य गर्ने भन्ने निर्णय अमेरिका होइन, इरानले नै गर्ने स्पष्ट पारेको छ।

इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोल्सुनरी गार्ड क्रप्स (आईआरजीसी) ले एक वक्तव्य जारी गर्दै क्षेत्रीय शक्ति सन्तुलन र आगामी अवस्थाको निर्णय अब इरानी सेनाको हातमा रहेको दाबी गरेको हो।

आईआरजीसीले भनेको छ, “युद्धको अन्त्य कहिले गर्ने भन्ने निर्णय हामी आफैं लिनेछौँ। यस क्षेत्रको अवस्था र भविष्यको समीकरण अब इरानको सेनाले तय गर्नेछ, अमेरिकी सेनाले होइन।”

यसअघि राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध लामो समय नचल्ने संकेत दिएका थिए। उनले इरानले विश्वव्यापी तेल आपूर्तिमा अवरोध पुर्‍याएमा अमेरिका कडा सैन्य कारबाही गर्न सक्ने चेतावनी पनि दिएका थिए।

मियामी नजिकै रहेको आफ्नै गोल्फ क्लबमा रिपब्लिकन सांसदहरूसँगको भेटमा ट्रम्पले मध्यपूर्वमा अमेरिकी अभियान छोटो समयमै सकिन सक्ने बताएका थिए।

त्यसको केही घण्टापछि सामाजिक सञ्जालमार्फत उनले इरानले प्रमुख तेल ढुवानी मार्ग स्ट्रीट अफ होर्मुजमा अवरोध सिर्जना गरेमा अमेरिका अहिलेसम्म भएका आक्रमणभन्दा २० गुणा शक्तिशाली हमला गर्न सक्ने चेतावनी दिएका छन्।

इरान र अमेरिकाबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बन्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको