काठमाण्डौ, फागुन २७ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतगणना प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन व्यवस्थापनका लागि स्थापना गरिएका विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्र बन्द गरिएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थापना गरिएका ती इकाइहरू बुधबारदेखि लागू हुनेगरी बन्द गरिएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान र मतगणनाको कार्य सम्पन्न भइसकेपछि ती केन्द्रहरू बन्द गरिएको जानकारी दिएका छन्।
निर्वाचनसम्बन्धी सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र सञ्चालनमा ल्याएको थियो।
त्यस्तै, मतदाता तथा सर्वसाधारणका निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न २०८२ माघ ५ गतेदेखि कल सेन्टर सञ्चालन गरिएको थियो भने सुरक्षा निकायबीच सहकार्य र निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको थियो।
आयोगका अनुसार सञ्चालन अवधिभर सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ वटा हानिकारक सूचना पहिचान गरी विश्लेषणसहित सम्बन्धित नियामक निकायमा पठाएको थियो।
त्यसैगरी विद्युतीय मतदाता शिक्षा इकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा सचेतनासम्बन्धी ७०४ वटा भिडियो तथा पोस्टर सामग्री तयार गरी आयोगका डिजिटल प्लेटफर्ममार्फत प्रकाशन तथा प्रसारण गरेको थियो।
कल सेन्टरमार्फत मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा आम मतदाताबाट आएका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरिएको आयोगले जनाएको छ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको सुरक्षा समन्वय, ट्र्याकिङ, हवाइ ढुवानी कार्ययोजना तयारी र कार्यान्वयनलगायतका काम गरेको थियो। साथै निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण, समन्वय तथा प्रतिवेदन तयार पार्दै निर्वाचन सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोगले जनाएको छ।






