काठमाडौं, फागुन २८ । राजधानी काठमाडौंमा वायु प्रदूषणको स्तर अझै घट्न सकेको छैन। पछिल्ला केही दिनयता अत्यधिक बढेको वायु प्रदूषण आज पनि अस्वस्थ तहमै रहेको छ।
रियल टाइममा वायुको गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आइक्यु एयर का अनुसार बिहीबार बिहान ६स्१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक एक्युआई १८५ पुगेको छ। १५० भन्दा माथिको सूचकांकलाई अस्वस्थ मानिन्छ।
नेपाल सरकारले निर्धारण गरेको वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक अवस्था मानिन्छ।
वायु प्रदूषणको सूचकांकका आधारमा काठमाडौं आज विश्वका सबैभन्दा प्रदूषित सहरहरूमध्ये छैटौं स्थानमा परेको छ। सूचीमा पहिलो स्थानमा उज्बेकिस्तानको टास्केन्ट, दोस्रोमा भियतनामको हानोइ , तेस्रोमा पाकिस्तानको लाहौर, चौथोमा भारतको दिल्ली र पाँचौं स्थानमा कोलकाता रहेका छन्।
यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाका भने अहिले दसौं स्थानमा झरेको छ।
प्रदूषणको स्तर उच्च बनेपछि सरोकारवाला निकायहरूले आवश्यक सावधानी अपनाउन नागरिकलाई आग्रह गरेका छन्। विशेषगरी बाहिर निस्कँदा मास्क प्रयोग गर्न र अनावश्यक रूपमा लामो समय बाहिर नबस्न सुझाव दिइएको छ।






