जनकपुरधाम, फागुन २८ । सुनसरीको कोशी गाउँपालिका–४ मा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अमरलाल साहको उपचारका क्रममा मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश–०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक अमरलाल साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए। गम्भीर घाइते अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते पुष्पा साहलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा पठाइएको छ। दुर्घटनामा संलग्न जिप चालक २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।






