रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले बृद्धि , सात महिनामा १२ खर्बभन्दा बढी भित्रियो



काठमाडौं, फागुन २८ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा भित्रिने रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि दर ७.५ प्रतिशत मात्रै रहेको थियो।



राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्म कुल १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ। माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको माघमा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ मात्रै आएको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्रै थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ।

रेमिट्यान्स बढेसँगै नेपालको विदेशी मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको राष्ट्र बैंकले जनाएको छ। हाल विदेशी मुद्रा सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ बराबर पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति करिब एक वर्ष छ महिनासम्मका लागि वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको छ।

मुद्रास्फीति पनि नियन्त्रणमै

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मुद्रास्फीति पनि तुलनात्मक रूपमा नियन्त्रणमै रहेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो सात महिनामा ४.८६ प्रतिशत रहेको मुद्रास्फीति यस वर्ष सोही अवधिमा १.९२ प्रतिशतमा झरेको छ।

माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशत, घिउ तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको छ।

यस्तै दाल तथा गेडागुडी ५.१९ प्रतिशत, खाद्य तथा खाद्य पदार्थ २.९७ प्रतिशत तथा मसला २.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।

क्षेत्रगत रूपमा हेर्दा माघ महिनामा काठमाडौं उपत्यकाको मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको छ।

त्यस्तै सन् २०२६ को जनवरीमा छिमेकी भारतमा वार्षिक मुद्रास्फीति २.७५ प्रतिशत रहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको