काठमाडौं, फागुन २९ । खाना पकाउने एलपिजी ग्यासको आभाव भएपछि नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्र उपलब्ध गराउने निर्णय गरेको छ। निगमले ग्यास अभाव व्यवस्थापन गर्न शुक्रबारदेखि लागू हुने गरी एलपी ग्यास सिलिन्डरमा ७.१ किलो मात्र ग्यास भरेर वितरण गर्ने निर्णय गरेको हो।
निगमका अनुसार अब उपभोक्ताले प्रति सिलिन्डर ९५५ रुपैयाँमा ७.१ किलो एलपी ग्यास पाउनेछन्। यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू रहने बताइएको छ।
पछिल्लो समय मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति प्रभावित भएको निगमले जनाएको छ। त्यसको प्रभाव नेपालमा समेत देखिन थालेपछि बजारमा ग्यासको माग असामान्य रूपमा बढेको छ।
निगमले नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको दाबी गरे पनि माग अत्यधिक बढेकाले आपूर्ति व्यवस्थापन गर्न यस्तो अस्थायी व्यवस्था गरिएको जनाएको छ। यस निर्णयबाट उपलब्ध ग्यासलाई बढी उपभोक्तासम्म पुर्याउने उद्देश्य रहेको निगमको भनाइ छ।
निगमले उपभोक्तालाई ग्यासको अनावश्यक भण्डारण नगर्न र संयमित रूपमा प्रयोग गर्न समेत आग्रह गरेको छ।






