काठमाडौं, फागुन २९। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। परिवारजनका अनुसार अन्त्येष्टि क्रममा केपी शर्मा ओलीले नै मुखाग्नि दिएका हुन्।
मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। अस्वस्थ महसुस भएपछि गएराति उनलाई अस्पताल लगिएको थियो र उपचारकै क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
अन्त्येष्टि अघि स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, आफन्त तथा परिवारका सदस्यहरू अस्पताल र आर्यघाट पुगेका थिए। उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरूको भीड लागेको थियो।
मोहनप्रसाद ओली पछिल्लो समय भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। यसअघि भने उनी झापास्थित घरमा बस्दै आएका थिए र बेला–बेला त्यहाँ आवतजावत गर्दै आएका थिए।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी भएको थियो। त्यस घटनापछि उनी झापा नगई काठमाडौंमै बस्दै आएका थिए।
मोहनप्रसाद ओलीको निधनसँगै एमाले अध्यक्ष ओलीसहित परिवारजन शोकमा डुबेका छन्। विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले पनि स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।






