एजेन्सी, फागुन ३० । मध्यपूर्वमा तनाव थप बढ्दै गएको बेला इरानले आफ्नो तेल तथा ऊर्जा पूर्वाधारमा कुनै पनि आक्रमण भए त्यसको कडा प्रतिकार गर्ने कडा चेतावनी दिएको छ। इरानी सेनाले अमेरिकासँग सहकार्य गर्ने देश तथा कम्पनीहरूको तेल र ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी दिएको हो।
इरानी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलअन्तर्गतको अल–अंबिया सेन्ट्रल हेडक्वार्टरले जारी गरेको वक्तव्यमा भनिएको छ— यदि इरानको ऊर्जा संरचनामाथि आक्रमण गरियो भने अमेरिकासँग सहकार्य गर्ने कम्पनीहरूको तेल तथा ऊर्जा पूर्वाधार तुरुन्तै ध्वस्त पारिनेछ र “राखको थुप्रोमा परिणत गरिनेछ”।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख तेल केन्द्र खर्ग द्वीपमा रहेका सैन्य संरचनाहरू नष्ट गरिएको दाबी गरेपछि आएको हो।
खर्ग द्वीप इरानको सबैभन्दा महत्वपूर्ण तेल निर्यात केन्द्र मानिन्छ, जहाँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने गरेको बताइन्छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानको मध्यपूर्व क्षेत्रमा प्रभाव विस्तार गर्ने योजना असफल भएको दाबी गरेका छन्। उनले इरानले पूरै मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउने र इजरायललाई नष्ट गर्ने लक्ष्य राखेको आरोप लगाउँदै अब ती योजनाहरू समाप्त भइसकेको बताएका छन्।
मध्यपूर्वमा अमेरिका, इरान र इजरायलबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षामा समेत प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार तेल पूर्वाधारलाई लक्षित गर्ने चेतावनीले विश्वव्यापी ऊर्जा आपूर्ति र बजारमा अस्थिरता ल्याउन सक्ने सम्भावना रहेको छ।




