यथार्थ जनतामा पुग्न नसक्दा जनमत विपरीत आयो : एमाले समीक्षा



काठमाडौं, फागुन ३० । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी र नेतृत्वविरुद्ध बनेको भाष्यको यथार्थ जनतामा पुर्‍याउन नसक्दा जनमत आफ्नो पक्षमा नआएको समीक्षा गरेको छ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

भट्टका अनुसार पछिल्लो समय देखिएको आन्दोलन र घटनाक्रमबारे पार्टीले आफ्नो धारणा स्पष्ट रूपमा जनतासम्म पुर्‍याउन नसक्दा भ्रम सिर्जना भएको र त्यसले जनमत प्रभावित भएको निष्कर्ष बैठकले निकालेको छ।

उनले जेन–जेड आन्दोलनका क्रममा भएका घटनाहरू, त्यसमा पार्टीको भूमिका र नेतृत्वमाथि भएका आक्रमणबारे वास्तविकता जनतासम्म पर्याप्त रूपमा पुग्न नसकेको बताए। “घटनाक्रम कसरी भए, त्यहाँ पार्टीको भूमिका के थियो र नेतृत्व तथा पार्टीमाथि कसरी आक्रमण भयो भन्ने यथार्थ हामीले जनताबीच लैजान सकेनौँ,” उनले भने।

उनका अनुसार यही कारणले एमाले र यसको नेतृत्वविरुद्ध नकारात्मक भाष्य निर्माण भएको र त्यसको प्रभाव जनमतमा देखिएको पार्टीको निष्कर्ष छ।

त्यसैगरी भट्टले अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर कुनै विवाद नभएको पनि स्पष्ट पारे। उनले पार्टी नेतृत्व र संगठन एकताबद्ध रहेको दाबी गर्दै आगामी दिनमा जनतासँगको सम्बन्ध अझ सुदृढ गर्ने दिशामा पार्टीले काम गर्ने बताए।

प्रकाशित मिति: २०८२ फाल्गुन ३०, शनिबार १६:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको