विराटनगर , फागुन ३० । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिक सांसदहरूको नाम अन्तिम रूपमा टुंग्याएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको थियो।
पार्टीका केन्द्रीय कोषाध्यक्ष स्मीता राईका अनुसार, चार जना सांसद चयन भएका छन् । जसमा आदिवासी महिला प्रतिनिधिमा मन्दिरा मोक्तान (हेटौँडा) ,
खस आर्य महिलामा अम्बीका संग्रौला , दलित कोटाबाट राधिका रम्तेल (सुर्खेत) र आदिवासी जनजातिबाट पूर्ण लिम्बु (पूर्व गोर्खा लाहुरे) रहेका छन ।
समानुपातिक सांसद छान्ने क्रममा पार्टीभित्र तीव्र विवाद देखा परेको थियो। खस आर्य कोटामा पहिलो नम्बरमा रहेका जिवन विष्टले आफ्नो नाम फिर्ता लिनु परेको थियो। उनले यस विषयमा, “यो समय लोभी, अवसरवादी सोचबाट ग्रसित भई पदका लागि झगडा गर्ने होइन, मतदाता र श्रमिकहरूको सम्मान गर्दै संस्कारी व्यक्तिहरूलाई अवसर दिनुपर्ने हो,” भनी बताएका थिए।
पार्टी अध्यक्ष हर्क सम्पाङ्गले सामाजिक सञ्जालमार्फत समानुपातिकमा रोइलो गर्ने सदस्यहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए।
प्रत्यक्षतर्फ, श्रम संस्कृति पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा विजय हासिल गर्दै तीन सिट पाएको थियो। समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत कायम गरेको छ।
यसरी विवादबीच टुंगिएको समानुपातिक सांसदको चयनले पार्टीको आन्तरिक एकता र आगामी काममा प्रभाव पार्ने अपेक्षा गरिएको छ।






