काठमाडौं, चैत १। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक रहेको क्याम्पमा आक्रमण भएको छ। तर उक्त घटनामा नेपाली सैनिकहरू सुरक्षित रहेको जनाइएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबार साँझ नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटर रहेको स्थानमा विस्फोट भएको हो।
नेपाली सेनाका प्रवक्ता राजन बस्नेतले घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन्। उनका अनुसार नेपाली शान्ति सैनिक तैनाथ रहेको माइस–अल–जबाल क्षेत्रमा केही विस्फोट हुँदा नजिकको एक घरमा क्षति पुगेको छ भने सैनिकका केही व्यक्तिगत सामानमा पनि क्षति पुगेको छ।
हाल लेबनानमा ५०० भन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ रहेका छन्। उनीहरूको कमान्ड दक्षिण लेबनानस्थित बटालियन हेडक्वाटरबाट सञ्चालन हुन्छ, जुन इजरायल सिमानानजिक पर्छ। त्यहाँको फोर्स कमाण्डर उपरथी मिन बहादुर थापा रहेका छन्।
आक्रमणको बेला सबै शान्ति सैनिकहरू बंकरभित्र रहेकाले सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।
लेबनानको सरकारी समाचार संस्थानेशनल न्युज एजेन्सीले भने इजरायलतर्फबाट आएको गोला संयुक्त राष्ट्रसंघ शान्ति सेना अन्तर्गत अन्तर्गत नेपाली बटालियनको मुख्यालय क्षेत्रमा खसेको दाबी गरेको छ। यद्यपि आक्रमण कहाँबाट भएको हो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन र त्यसबारे अनुसन्धान भइरहेको नेपाली सेनाले जनाएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरशले शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको बताएका छन्। उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोक्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्।
गुटेरेसले लेबनान, इजरायल तथा क्षेत्रका अन्य देशका जनतालाई भयमुक्त वातावरणमा बाँच्न पाउने अधिकार रहेको पनि बताएका छन्।






