जनकपुरधाम, चैत १ । मनकामना दर्शन गरेर फर्किदै गर्दा गोरखाको सहिद लखन गाउपालिकामा जीप दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
शनिवार साँझ करिब ८ बजे मनकामना मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको जीप आँबुखैरेनीतर्फ आउने क्रममा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको जीपमा चालकसहित १४ जना सवार थिए। तीमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये ५ जना पुरुष र २ जना महिला रहेको बताइएको छ।
जीपमा सवार यात्रुहरू भारतीय नागरिक रहेको प्रारम्भिक जानकारी आएको छ। मृतकहरूको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य ७ जनालाई उपचारका लागि आँबुखैरेनी पठाइएको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा स्थानीयवासी उद्धार कार्यमा परिचालित भएका छन्। घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।






