जनकपुरधाम, चैत २ । जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिबाट विरक्तिएका छन । २०७९ संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर उदाएका राउत पछिल्लो निर्वाचनमा पराजित भए पछि विरक्तिएका हुन । एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। तर उनले संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन्।
अन्तवार्तामा उनले आफू संसदीय पदको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन्। “संसदीय राजनीतिबाट सन्न्यास लिने, तर संघर्षको राजनीति जारी राख्ने र पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढ्ने,” उनले भनेका छन ।
उनले संसदीय राजनीतिबाट टाढा रहने निर्णयलाई राजनीतिबाट पूर्ण रूपमा अलगिएको रूपमा नबुझ्न आग्रह गरेका छन्। उनका अनुसार आफू राजनीतिमा सक्रिय रहँदै आफ्ना सिद्धान्त र एजेन्डालाई अघि बढाउँदै जनताको सेवामा निरन्तर रहनेछन्।
जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको थियो। त्यसबेला पार्टीले प्रतिनिधिसभामा उल्लेख्य उपस्थिति जनाएको थियो र राउत स्वयं प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए।
तर हालै सम्पन्न निर्वाचनमा भने जनमत पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन। सप्तरी–२ बाट उम्मेदवारी दिएका राउत रामजी यादव सँग पराजित भएका थिए भने पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन। समानुपातिकतर्फ पनि आवश्यक मत नपुग्दा संसद्मा प्रतिनिधित्व हुन सकेन।
राउतले अब आफू संसदीय पदको राजनीतिबाट टाढा रहे पनि पार्टीलाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि तयार पार्न सक्रिय रहने बताएका छन्। “जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउने मेरो प्रतिबद्धता रहनेछ,” उनले उल्लेख गरेका छन्।
यसैबीच राउतले आफू व्यक्तिगत इच्छा विपरीत पार्टी अध्यक्ष बनेको दाबी पनि गरेका छन्। उनका अनुसार अन्य नेताहरूले नेतृत्व लिन नमानेपछि बाध्य भएर आफूले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्नुपरेको थियो।






