धरान, चैत २ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समानुपातिक सांसद सिफारिसप्रति गोमा तामाङ सरिन असन्तुष्टी व्यक्त गरेकी छन । आइतबार पार्टीले समानुपातिकतर्फ ५७ जनाको नाम सिफारिस गरेको थियो।
सरिनले सामाजिक सञ्जालमा लेख्दै कोशी प्रदेशको भूगोल र जातीय क्लस्टरको सन्तुलन समानुपातिक छनोटमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार, ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मिरा लाबुङ जस्ता योग्य उम्मेदवारलाई सूचीमा समेटिएको छैन।
सरिनले चेतावनी दिएकी छन् कि कोशीको भौगोलिकता र जातीय प्रतिनिधित्व नसमेट्दा भविष्यमा सङ्गठनमा असर पर्न सक्नेछ। उनले थपेकी छन्, “समुदायका व्यक्ति विशेष केन्द्रीय नेताज्यूको वरिपरि भए पनि यसबारे ध्यानाकर्षण गराउन नसक्नु विडम्बना र दुःखद् छ।”
कार्यवाहक सभापति गोमा तामाङ सरिन स्वयं प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार रहेर हर्क साम्पाङ सँग पराजित भएकी थिइन्। रास्वपाका तत्कालीन प्रदेश सभापति राजेश तिम्सिना माथि अनुशासन कारबाही भएपछि सरिनले प्रदेश नेतृत्व सम्हालेकी हुन्।






