हर्मुज खुलाउन चीनले सहयोग नगरे ट्रम्पले चीन भ्रमण ढिला गर्ने धम्की



एजेन्सी, चैत २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले ‘स्ट्रेट अफ हर्मुज’ खोल्न सहयोग नगरे चीन भ्रमण ढिला गर्न सक्ने चेतावनी दिएका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायल ले इरान मा हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको थियो। यो मार्गबाट विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास आपूर्ति हुन्छ। मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ र यसको असर विश्व अर्थतन्त्रमा पनि परेको छ।

ट्रम्पले उक्त जलमार्ग पुनः सञ्चालन गराउन आवश्यक परे युद्धपोतमार्फत सुरक्षा घेराबन्दी गर्ने तयारीसहित प्रयास गरिरहेका छन्। शनिबार मात्रै उनले हर्मुज खुलाउन युद्धपोत पठाउन चीन, बेलायत लगायत देशलाई आग्रह गरेका थिए। तर चीनले सहयोग गर्ने सम्भावना कम देखिएपछि ट्रम्पले चीनलाई दबाब दिन आफ्नो भ्रमण ढिला गर्ने संकेत दिएका हुन्।

ट्रम्प ले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भने, “मलाई लाग्छ चीनले पनि मद्दत गर्नुपर्छ, किनकि चीनले आफ्नो करिब ९० प्रतिशत तेल त्यही जलमार्गबाट प्राप्त गर्छ।” शिखर सम्मेलनअघि चीनले सहयोग गर्छ कि गर्दैन भन्ने थाहा पाउन चाहेको उनले बताए।

केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यतिर चीन भ्रमण गर्ने कार्यक्रम रहेको थियो। भ्रमणमा आपसी व्यापार, ताइवान मामिला र ऊर्जा आपूर्ति जस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ। तर हर्मुज खोल्ने प्रयासमा चीनले सहयोग नगरे ट्रम्पले भ्रमण ढिला गर्न सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको