काठमाडौं, चैत ३ । स्वर्णिम वाग्ले ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको अभूतपूर्व जनादेश जोगाउनु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुख्य चुनौती भएको बताएका छन्।
ललितपुरमा नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै वाग्लेले जनताले विकास र सुशासनका लागि स्पष्ट म्यान्डेट दिएको उल्लेख गर्दै अब त्यसबाट पछि हट्ने कुनै विकल्प नरहेको बताए। “जनताको अपेक्षा पूरा गर्नु नै हाम्रो पहिलो दायित्व हो,” उनले भने।
उनले यसपटकको निर्वाचन परिणामलाई नेपालको लोकतान्त्रिक इतिहासकै बलियो र वैध जनादेशका रूपमा चित्रण गरे। उनले २०१५ सालमा नेपाली कांग्रेस ले दुईतिहाइ सिट जिते पनि लोकप्रिय मत ३८ प्रतिशत मात्र रहेको स्मरण गराए। तर यसपटक रास्वपाले १८२ सिट र करिब ४८ प्रतिशत लोकप्रिय मतसहित ५१ लाखभन्दा बढी मत प्राप्त गरेको तथ्य उनले प्रस्तुत गरे।
वाग्लेले विगतका सरकारहरूका कमजोरीबाट सिक्नुपर्नेमा जोड दिए। उनले २०४८ सालमा नेपाली कांग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण ढलेको, २०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बलियो बहुमत पनि तीन वर्षमै टुटेको उदाहरण दिए।
रास्वपाले अब स्थिरता र सुशासनमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले सांसदहरूलाई पारदर्शी जीवनशैली अपनाउन, जिम्मेवार अभिव्यक्ति दिन, जनताको गुनासा प्राथमिकतामा राख्न र संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न संविधान तथा कानुनको गहिरो अध्ययन गर्न सुझाव दिए।
उनले यसपटकको जनादेशलाई नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै सबै जनप्रतिनिधिलाई उच्च जिम्मेवारीबोधका साथ काम गर्न आह्वान गरे।






