बुटवल, चैत ४ । विश्व बैंकले ‘ ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ कार्यान्वयनका लागि ८५ मिलियन अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको छ।
अमेरिकाको वासिङ्टन डीसीमा मार्च १३ मा बसेको विश्व बैंकको बोर्ड बैठकले उक्त ऋण दिने निर्णय गरेको हो।
यो परियोजना लुम्बिनीसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा कार्यान्वयन हुनेछ।
परियोजना सहरी विकास मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह र विश्व बैंकको सहकार्यमा सञ्चालन हुनेछ। यसले पर्यटन पूर्वाधार विकास, सम्पदा संरक्षण र दिगो शहरी विकासमा केन्द्रित हुने लक्ष्य राखेको छ।
लुम्बिनी विकास कोषका अनुसार परियोजनाका लागि १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट अनुमान गरिएको छ। नेपाल सरकारले औपचारिक रूपमा ऋण स्वीकार गरेपछि परियोजना कार्यान्वयनमा जानेछ।
ग्रेटर लुम्बिनी परियोजना केही वर्षदेखि तयारीमा रहे पनि हालै तीव्र पहलपछि विश्व बैंकलाई सहमत गराउन सफल भएको कोषका पदाधिकारीहरूले बताएका छन्।
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघि सारेको यो योजना ‘ड्रिम प्रोजेक्ट’ का रूपमा लिइएको छ, जसले लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्र बनाउने लक्ष्य राखेको छ।
परियोजनाले मायादेवी मन्दिर, तिलौराकोट, देवदह र रामग्राम स्तूपजस्ता बौद्ध सम्पदा स्थलमा प्राथमिक रूपमा काम गर्नेछ।
यसबाट पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र विस्तार तथा पूर्वाधार सुधार हुने अपेक्षा गरिएको छ।
रामग्राम, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाले परियोजनाका लागि प्रति पालिका एक अर्बभन्दा बढी बजेट सुनिश्चित गर्न विश्व बैंकसमक्ष संयुक्त ज्ञापनपत्र पेस गरेका थिए।
परियोजनामा लैंगिक समानता, जलवायु अनुकूलन, दिगोपन, महिला तथा युवा उद्यमशीलता प्रवर्द्धन, तथा स्थानीय सहभागितालाई प्राथमिकतामा राखिएको छ।
साथै, सडक, ढल, पैदलमार्ग, सार्वजनिक सेवा सुधार, तथा पर्यटनमैत्री पूर्वाधार निर्माणमार्फत आगन्तुक अनुभव सुधार गर्ने लक्ष्य राखिएको छ।






