कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार, स्वदेश फर्काइयो



काठमाडौं, चैत ५ ।  कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई उद्धार गरेको हो।

दूतावासका अनुसार उद्धार गरिएका व्यक्तिहरु अनलाइन स्क्यामिङ केन्द्र, अनलाइन ठगी गर्ने क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न थिए र कतिपयले अवैध भिसामा बसाइरहेका थिए।



उद्धारमा दूतावासको पहल र कम्बोडियाली सरकारको सहयोग रहेको थियो। उनीहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको थियो र शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

दूतावासले जानकारी दिएको छ कि कम्बोडियामा अझै अलपत्र परेका अन्य नेपाली पनि रहेका छन् र उनीहरुलाई पनि स्वदेश फर्काउन पहल भइरहेको छ। कम्बोडियामा कठिन अवस्थामा रहेका नेपालीहरु बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

पर्यटन तथ्याङ्क अनुसार, सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना नेपाली पुगेका थिए।

दूतावासले कुनै प्रलोभनमा नपरी, नेपाल सरकारले तोकेका मापदण्ड अनुसार मात्र श्रम स्वीकृति लिएर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायत मुलुकमा जान सचेत गराएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको