दुई सातायता डुबेर दुई जनाको ज्यान गयो

सप्तरीमा चालु आ.ब. को हाल सम्ममा १० बालबालिकासहित १७ को मृत्यु


सप्तरी, चैत ५ । दुई सातायता सप्तरीमा डुबेर दुई जनाको ज्यान गएको छ । सदरमुकाम राजविराजस्थित तुरन्ती र कलटुदास पोखरीमा गरी दुई जनाको डुबेर ज्यान गएको हो ।

यसरी डुबेर मृत्यु हुनेमा राजविराज ६ का १८ वर्षिय अंगद मेहतर तथा राजविराज ४ का २५ बर्षीय गजेन्द्र दास छन् । मेहतरको शौचका क्रममा चिप्लिएर तथा गजेन्द्र दासको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्लामा ८ महिना यता पोखरीमा र खाडलमा डुबेर १७ जनाको मृत्यु भइसकेको छ । जसमा ५ पुरुष, २ महिला, ६ बालक र ४ बालिका छन् ।

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा ३४ जनाको पोखरी, नदी र खोलमा डुबेर मृत्यु भएको थियो । मृत्यु हुनेमा १३ पुरुष, १ महिला, १४ बालक र ६ बालिका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार तराई मधेशमा पोखरी, नदी, नाला, खोला, नहर र खाल्डोमा डुबेर मृत्यु हुने गरेको पाइएको छ ।

प्रहरीले बालबालिका पोखरीमा गएर नुहाउनु, माछा मार्नु, वर्षाका बेला जथाभावी बाहिर खेल्न जानु लगायतका कारणले वर्षेनी डुबेर मृत्यु हुने गरेको भन्दै यसतर्फ अभिभावक समेतले निगरानी राख्न जरुरी रहेको बताए । उनले यस्ता घटना रोक्न प्रहरीले बेला बेलामा सचेतना कार्यक्रम संचालन गरिरहेको समेत जानकारी दिए ।

बालबालिकाले पोखरी, नदी, खोला र खाल्टोको गहराईको हेक्का राख्न नसक्दा डुब्ने गरेको भन्दै यहाँका नागरिक अगुवाहरुले यसतर्फ प्रहरीको प्रयाससँगै अभिभावक पनि जागरुक भई निगरानी राख्नु पर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको