काठमाडौं, चैत ६ । भदौ २३ र २४ गते भएको जेनजी विद्रोहसम्बन्धी कार्की आयोगको सत्य–तथ्य सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी जनएकता अभियानले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागी जेनजी युवाहरूले ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ भन्ने नारासहित सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गरेका थिए। उनीहरूले प्रतिवेदन सार्वजनिक नगरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन्।
अभियानका संयोजक सुनिल सिंहले सरकारको ढिलासुस्तीप्रति कडा आपत्ति जनाउँदै जनताको आवाजलाई बेवास्ता गरेर प्रतिवेदन लुकाउन खोजिएको आरोप लगाए। उनले भने, “भदौ २३–२४ का घटनाको सत्य सार्वजनिक गर्नु सरकारको जिम्मेवारी हो। यदि ढिलाइ जारी रहे आन्दोलनलाई देशव्यापी रूपमा विस्तार गर्नेछौं।”
प्रदर्शनमा सहभागीहरूले ‘सत्य लुकाउन पाइँदैन’, ‘न्याय चाहियो’ लगायतका प्लेकार्ड बोकेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
शान्तिपूर्ण रूपमा सम्पन्न उक्त प्रदर्शनमार्फत सरकारलाई तत्काल निर्णय लिन दबाब दिने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।
यता, सरकारको तर्फबाट भने कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा हालसम्म स्पष्ट धारणा सार्वजनिक गरिएको छैन, जसले आन्दोलन थप चर्किने संकेत देखिएको छ।




