जनकपुरधाम, चैत ६ । पश्चिम एसियामा जारी युद्धका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका शव स्वदेश ल्याउन समस्या भएको छ। उडान अवरुद्ध हुँदा साउदी अरब, कुवेत र यूएईमा गरी २२ जना नेपालीका शव विमानस्थलमै रोकिएका छन्, जसले परिवारजनलाई थप पीडामा पारेको छ।
दूतावासका अनुसार आवश्यक सबै कागजात प्रक्रिया पूरा भइसकेका छन्। ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत जारी गरिए पनि नियमित उडान नहुँदा शव नेपाल पठाउन सकिएको छैन। हाल कुवेतमा ७, साउदी अरबमा ७ र यूएईमा ८ शव अलपत्र अवस्थामा छन्।
पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण विभिन्न देशका विमानस्थल प्रभावित भएका छन्। सीमित उडान, उच्च कार्गो शुल्क र कानुनी जटिलताले शव व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। सामान्य अवस्थामा दुई साताभित्र शव नेपाल ल्याइने भए पनि अहिले एक महिनाभन्दा बढी समय लाग्न थालेको छ।
शव पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाता कम्पनीको भए पनि अहिलेको असहज परिस्थितिमा प्रक्रिया ढिलाइ भइरहेको छ। कार्गो शुल्क अत्यधिक बढेको छ भने एयरलाइन्सहरूले यात्रुलाई प्राथमिकता दिँदा शव ढुवानीमा समस्या थपिएको छ।
यसबीच कतारबाट भने हालै ५ जना नेपाली श्रमिकका शव स्वदेश ल्याइएको दूतावासले जनाएको छ। अन्य मुलुकबाट पनि उडान सहज हुनेबित्तिकै शव पठाउने तयारी भइरहेको छ।
उता, शवको पर्खाइमा रहेका परिवारजनको अवस्था दयनीय बन्दै गएको छ। कुवेतमा मृत्यु भएका सिरहाका रमेश मोचीको परिवार विगत दुई सातादेखि शव कुरेर बसेको छ। उनका बुबाले छोराको शव कहिले आइपुग्छ भन्ने अनिश्चितताले दिन काट्नै गाह्रो भएको बताएका छन्।
वैदेशिक रोजगारीमा परिवारको आशा बोकेर गएका श्रमिकको शवसमेत समयमै घर नआउँदा पीडित परिवार दोहोरो मारमा परेका छन्। अहिले उनीहरूका लागि प्रत्येक दिन निकै कठिन बन्दै गएको छ।






