काठमाडौं, चैत ६ । आज शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी पश्चिम नेपालमा (सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका क्षेत्रमा ) आँधीहुरीसहितको मौसम सक्रिय हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा तथा हिमपातसमेत भइरहेको छ। दिउँसोपछि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशका तराई क्षेत्र—विशेषगरी दाङ र नेपालगञ्ज आसपास—मा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। शनिबार कोशी प्रदेशका विराटनगर, धरान र धनकुटा क्षेत्रमा पनि तीव्र हावाहुरीको जोखिम रहनेछ। हावाको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन सुझाव दिएको छ। साथै, अग्ला रुख, बिजुलीका खम्बा र तार नजिक नबस्न, लत्रिएको तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।
पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकोले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।




