रौतहटमा एक महिनामा ३२ वटा आत्महत्याका घटना



ओम प्रकाश यादव
रौतहट, चैत ७ । रौतहट जिल्लामा पछिल्लो एक महिनामा ३२ वटा आत्म हत्याको घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गत फागुन महिनाको विस्तृत कार्य प्रगति विवरण सार्वजनिक गर्दै ३२ वटा आत्महत्याको घटना दर्ता भएको जनाएको छ ।

कार्यालयले जिल्लाभर भएका आपराधिक गतिविधि, उजुरी व्यवस्थापन, सवारी दुर्घटना तथा ट्राफिक कारबाहीसम्बन्धी तथ्यांक समेत सार्वजनिक गरेको हो। प्रहरीका अनुसार फागुन महिनामा जिल्ला प्रहरी कार्यालयमा १०८ वटा ठाडो उजुरी दर्ता भएका थिए। तीमध्ये ६६ वटा उजुरी फर्छ्यौट भइसकेका छन् भने ४२ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेका छन्।

उजुरी फर्छ्यौटको दर बढाउन थप पहल भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा आएका ५२ वटा उजुरीमध्ये ३५ वटा उजुरी फर्छ्यौट गरिएको छ भने १७ वटा उजुरी अझै प्रक्रियामै रहेको बताइएको छ। प्रशासनमार्फत आउने उजुरीहरू पनि प्राथमिकताका साथ छानबिन गरी टुंग्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

फागुन महिनाको अवधिमा जिल्लाभर ८७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा मानवीय तथा भौतिक क्षति भएको प्रहरीको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि प्रहरीले कडाइ गरेको छ। एक महिनाको अवधिमा ४७४ सवारी साधनलाई कारबाही गर्दा ५ लाख १२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।

अत्यधिक गति, कागजात नबोक्नु, हेल्मेट तथा सिटबेल्ट प्रयोग नगर्नु जस्ता कारणले कारबाही गरिएको जनाइएको छ।

विभिन्न मुद्दाका फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका १६ जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालले जानकारी दिए। फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको उनले बताए।

मुद्दा विवरणअनुसार ज्यान सम्बन्धी कसुरमा ९ जना, संगठित तथा आर्थिक अपराध अन्तर्गत १० जना र सवारी ज्यान सम्बन्धी कसुरमा ४ जनामाथि मुद्दा चलाइएको छ।

त्यसैगरी बैंकिङ कसुर अन्तर्गत ७ जना तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा १ जनामाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांकले जिल्लामा अपराध नियन्त्रण, उजुरी व्यवस्थापन र ट्राफिक अनुशासन कायम गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको देखाएको छ। प्रहरीले आगामी दिनमा अझ प्रभावकारी ढंगले शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ७, शनिबार १७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको