काठमाडौँ, चैत ७ । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको पानी सडकमा पसेपछि वीपी राजमार्ग अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ३:३० बजेदेखि रोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा खोला उफ्रिएर सडकमा पसेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा पानी पसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
निरन्तर वर्षाका कारण रोशी खोलाको बहाव बढ्दै सडकसम्म पुगेको प्रहरीले जनाएको छ। अहिले प्रहरी र सम्बन्धित निकायहरूबीच समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ।
यसैबीच जिल्ला ट्राफिक कार्यालय काभ्रे ले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।






