जनकपुरधाम, चैत ७ । देशभरका मुस्लिम समुदायले आज पवित्र ईद उल फित्र पर्व उल्लासपूर्वक मनाइरहेका छन्। अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिना (रमजान) भरि रोजा (व्रत) बसेपछि विशेष नमाज अदा गरी एकअर्कामा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ।
आज बिहान मस्जिद तथा इदगाहहरूमा विशेष नमाज पढिएपछि आफन्तजन तथा ठूलाबडाकहाँ गई आशीर्वाद लिने चलन छ। यस अवसरमा सेवई, खजुर लगायतका परिकार खुवाइ अतिथि सत्कार गर्ने परम्परा पनि कायम छ।
पर्वको मुख्य विशेषता दान र सहकार्य हो। इस्लाम धर्मअनुसार एक वर्षको बचतको करिब २।५ प्रतिशत रकम वा सो बराबरको जिन्सी दान ९जकात० गरिन्छ, जसलाई गरिब तथा दीनदुःखीलाई वितरण गरिन्छ। त्यस्तै ‘सदकातुल फितर’ अन्तर्गत प्रत्येक व्यक्तिले आफ्नो क्षमताअनुसार गहुँ वा नगद दान गर्ने प्रचलन पनि रहेको छ।
घन्टाघर जामे मस्जिद सहित देशभरका मस्जिदहरूमा विशेष कार्यक्रम आयोजना गरी नमाज अदा गरिएको छ। एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेपछि आजको दिनलाई विशेष खुशी र उत्साहका साथ मनाइन्छ।
यस अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाई आफन्त, साथीभाइसँग भेटघाट गरी इदको शुभकामना साटासाट गर्ने गर्दछन्। पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको गृह मन्त्रालय ले जनाएको छ।






