साथीको विवाहमा जान्छु भनी निस्केकी कल्पना काखे छोरीसहित वेपत्ता



सप्तरी, चैत ७ । माइतमा रहेका साथीको विहेमा जान्छु भनी घरबाट निस्केकी एक महिला काखे बालकसहित विगत ९ दिनदेखी वेपत्ता छिन् ।

राजविराज नगरपालिका ६ की २३ वर्षिया अन्नु भनिने कल्पना चौधरी वेपत्ता भएकी हुन् । मोरङको जहदा गाउँपालिका २ माइत भएकी कल्पना गत फागुन २९ गते बिहान ८ बजेतिर अढाई वर्षिया छोरी रोशनीलाई बोकेर माइक्रो चढी त्यसतर्फ प्रस्थान गरेकी थिइन् । घरमा उनले ससुरा प्रमोद र श्रीमान बिरेन्द्रलाई स्कुल पढ्ने अति निकटका एक साथीको विहेमा जान्छु भनी बताएकी थिइन् ।

उनलाई आफू र बुबा प्रमोदले राजविराजको कुनौली मोडमा बिराटनगर जाने माइक्रो बसमा चढाएर घर फर्किएको बिरेन्द्रले सुनाए । तीन घण्टापछी फोनमा कुरा हुँदा कल्पनाले आफू बिराटनगर पुगिसकेको र सिटि रिक्सा चढेर घरतर्फ जाँदै गरेको जानकारी दिएको उनको भनाई छ । तर त्यसपछी कल्पनाको मोवाइल (९८०५३५९१२१) स्वीच अफ् भएको बिरेन्द्रले सुनाए ।

माइतीपक्ष सँगकुरा गर्दा कल्पना यहाँ नआएको भनी जानकारी गराएपछी आफूहरु चकित परेको ससुरा प्रमोदले सुनाए । कल्पना वेपत्ता भएपछी माइती पक्षसमेत मिलेर बिराटनगर, सीमावर्ती भारतीय बजार जोगवनी तथा अन्य आफन्तजन र चिनजान भएका ठाउँ सबैतिर खोजि सक्दा पनि कल्पना अझै फेला पर्न नसकेको परिवारजनको भनाई छ ।

“मोरङ र सप्तरी दुबै ठाउँका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका छौं, कल्पनाका श्रीमान बिरेन्द्रले भने–तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन् ।” उनका अनुसार साथीको विहेमा जान्छु भनी निस्केकी कल्पनाले सो दिन करिब तीन तोलाको सुनको तथा पाँच तोला जति चाँदीको गरगहना लगाएकी थिइन् । आफू काममा व्यस्त भएकाले कल्पनालाई सो दिन एक्लै जान दिएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले कल्पनाको खोजि कार्य तिब्र पारिएको जनाएका छन् । “कल्पना र उनका डेढ वर्षिया छोरी रोशनीलाई सकुशल उद्दार गर्ने गरि खोजिकार्य व्यापक बनाएका छौं, उनले भने –छिट्टै फेला पार्ने विश्वास छ ।”

उनले सबै प्रहरी निकायमा कल्पनाको हुलिया सर्कुलर गरेको जानकारी समेत गराए । कल्पनाले प्रयोग गर्ने मोवाइल सोही दिन दिउँसो ३ बजेदेखी स्विच अफ बताइरहेकाले आफन्तजन कुनै अप्रिय घटनाको आशंकामा चिन्तित छन् । कल्पनाको अवस्था पत्ता लगाउनमा सहयोगका लागि परिवारजनले सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०८२ चैत्र ७, शनिवार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको