पाल्पा टिपर दुर्घटनामा मृतकको संख्या ४ पुग्यो



पाल्पा, चैत ८ । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

माथागढी गाउँपालिका–७ रहबास क्षेत्रमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनका अनुसार चिदीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बेला ज्यान गएको हो।

यसअघि दुर्घटनामा अर्घाखाँची शीतगंगा–४ का २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ का २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको थियो।

शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको थियो। त्यहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते चिदीलाई थप उपचारका लागि भैरहवा लगिएको थियो।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार ०८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको