कांग्रेसमा देउवा समूह पुनः सक्रिय, छुट्टै केन्द्रीय समिति बैठक बोलाउने



काठमाडौं, चैत ८ । प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको नेपाली कांग्रेसमा देउवा समूह पुनः सक्रिय भएको छ । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि सुस्त बनेको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ।

आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा पक्षका नेताहरूको परामर्श बैठकले चुनावी समीक्षा र आगामी कार्यनीतिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निष्कर्ष निकालेको हो। यद्यपि बैठकको मिति भने अझै तय गरिएको छैन।

नेता मीन विश्वकर्मा का अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित शीर्ष नेताहरूलाई दिइएको छ।

उता, गगन थापा नेतृत्वमा रहेको वर्तमान समितिले पनि चुनावी समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक चलाइरहेको छ। तर देउवा समूहले उक्त नेतृत्वलाई अस्वीकार गर्दै अदालतमा मुद्दा दायर गरेको छ।

निर्वाचन आयोगले भने थापा नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ। सोही नेतृत्वमा चुनाव लडेको कांग्रेसले अपेक्षित सफलता हासिल गर्न नसकेपछि अहिले समीक्षा प्रक्रिया चलिरहेको छ।

थापा समूहले समीक्षा सुरु गरेपछि असन्तुष्ट बनेको देउवा पक्षले अब छुट्टै बैठक बोलाउने निर्णय गरेसँगै पार्टीभित्रको विवाद अझै गहिरिने देखिएको छ। यद्यपि दुवै पक्ष अन्तिम निर्णयका लागि अदालतको फैसलाको प्रतीक्षामा छन्।

प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको