एजेन्सी, चैत ८ । इजरायल र इरान बीच जारी द्वन्द्वले नयाँ मोड लिँदै दक्षिणी इजरायलमा भीषण मिसाइल आक्रमण भएको छ। आक्रमणमा अराद र डिमोना सहर मुख्य निशानामा परेका छन्, जहाँ १०० भन्दा बढी मानिस घाइते भएको जनाइएको छ।
इजरायली अधिकारीहरूका अनुसार आक्रमणमा बालबालिकासहित ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको छ भने केही अझै बेपत्ता रहेको बताइएको छ। उद्धार कार्य तीव्र रूपमा जारी छ।
इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहू ले अरादका मेयरसँग टेलिफोन संवाद गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आपतकालीन सेवा ‘मगन डेविड एडोम’ले अराद क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ।
डिमोना सहर, जहाँ शिमोन पेरेस नेगेव न्यूक्लियर रिसर्च सेन्टर अवस्थित छ, आक्रमणको प्रमुख लक्ष्य बनेको बताइएको छ। प्रारम्भिक रिपोर्टअनुसार एक ब्यालिस्टिक मिसाइल आवासीय क्षेत्रमा खस्दा दर्जनौं घरहरूमा क्षति पुगेको छ।
यसैबीच, इरानले बगदाद नजिकै रहेको विमानस्थल क्षेत्रमा ड्रोन आक्रमण गरेको खबर सार्वजनिक भएको छ। साथै इराकको राष्ट्रिय गुप्तचर मुख्यालयमा समेत आक्रमण हुँदा एक अधिकारीको ज्यान गएको छ।
इरानी सरकारी स्रोतका अनुसार जारी युद्धमा इरानतर्फ मृतक संख्या १,५०० नाघेको छ। इजरायली सेनाले आफ्नो रक्षा प्रणालीले सबै मिसाइल रोक्न नसकेको स्वीकार गरेको छ।
पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिका ले आफ्ना नागरिकलाई इराक छोड्न चेतावनी दिएको छ। इरान समर्थित समूहहरूले अमेरिकी नागरिक र संरचनालाई लक्षित गर्दै आक्रमण गरिरहेको जनाइएको छ।
हाल क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गइरहेको छ र अन्तर्राष्ट्रिय समुदायले स्थिति नजिकबाट नियालिरहेको छ।






