जनकपुरधाम, चैत ९ । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत आधारभूत तह (कक्षा ८) को बोर्ड परीक्षा आजदेखि सुरु भएको छ।
नगर क्षेत्रका विभिन्न विद्यालयका हजारौँ विद्यार्थी सहभागी रहेको यस परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन विशेष तयारी गरिएको छ।
परीक्षाको पहिलो दिनमै व्यवस्थापन प्रभावकारी बनाउन नगर प्रमुख मनोज कुमार साह को नेतृत्वमा अनुगमन टोली परिचालन गरिएको छ। टोलीमा शिक्षा समितिका सदस्यहरू तथा प्याब्सन जनकपुरधामका प्रतिनिधिहरू समेत सहभागी थिए।
टोलीले विभिन्न परीक्षा केन्द्रहरूको स्थलगत निरीक्षण गर्दै परीक्षा सञ्चालनको अवस्था बुझिएको जनाएको छ। अनुगमनका क्रममा केन्द्रहरूमा शान्त, अनुशासित र व्यवस्थित वातावरण कायम रहेको पाइएको नगर प्रमुख साहले जानकारी दिए।
उनले परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पारे। “निष्पक्षता, पारदर्शिता र अनुशासन कायम राख्दै परीक्षा सञ्चालन गर्नु हाम्रो प्रमुख दायित्व हो,” उनले भने।
नगर प्रमुखका अनुसार परीक्षा केन्द्रहरूमा शिक्षक, कर्मचारी र सुरक्षाकर्मीबीच समन्वय बढाइएको छ। अनावश्यक भीड नियन्त्रण, नक्कल रोकथाम तथा विद्यार्थीलाई सहज वातावरण उपलब्ध गराउन विशेष ध्यान दिइएको छ।
यसैबीच, अनुगमन टोलीले केही केन्द्रहरूमा व्यवस्थापन अझ सुदृढ बनाउन सुझाव दिएको छ। विशेषगरी समयपालन, परीक्षा सामग्रीको सुरक्षा र कक्षाकोठा व्यवस्थापनमा थप ध्यान दिन निर्देशन दिइएको छ।
उपमहानगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि परीक्षा प्रणालीलाई व्यवस्थित बनाउने प्रयास जारी राखेको जनाएको छ। साथै, सबै विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षा दिन शुभकामना दिँदै अभिभावक र शिक्षकलाई सकारात्मक वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरिएको छ।






