वीरगंज, चैत ९ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महाविर पुन वीरगन्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययनमा जुटेका छन । लामो समयदेखि बन्द अवस्थामा रहेको उक्त कारखानालाई पुनः सञ्चालन र आधुनिकीकरण गर्ने सम्भावनाबारे अध्ययन गर्न पुन कारखाना पुगेका छन ।
कारखाना परिसरको निरीक्षण गर्दै पुनले त्यहाँ रहेका मेसिन, भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिएका थिए। साथै, उनले स्थानीय सरोकारवालासँग छलफल गर्दै स्वदेशमै कृषि औजार उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार नेपालमा प्रयोग हुने अधिकांश कृषि उपकरण आयातमा निर्भर भएकाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नु अत्यावश्यक रहेको छ।
कुनै समय देशकै प्रमुख कृषि औजार उत्पादन केन्द्रका रूपमा परिचित उक्त कारखाना पछिल्ला वर्षहरूमा निष्क्रिय बनेको छ। तर पुनको सक्रियतासँगै यसको पुनर्जीवनको आशा पुनः जागेको स्थानीयहरूले बताएका छन्।
स्थानीय उद्योगी, कृषक तथा अन्य सरोकारवालाले कारखाना पुनः सञ्चालनमा आए कृषि क्षेत्रमा लागत घट्ने र रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गरेका छन्।
पुनले सरकार, निजी क्षेत्र र प्राविधिक समूहबीच सहकार्य भए कारखानालाई आधुनिक बनाउँदै सञ्चालनमा ल्याउन सकिने बताए। साथै, यसका लागि निकट भविष्यमा विस्तृत योजना सार्वजनिक गरिने जानकारी समेत दिएका छन्।






