सिरहा, चैत १० । मानव बेचबिखन तथा ओसारपसार र यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ मा भएको हो। त्यहाँका दिलीप साह र उनकी श्रीमती सुनिता साहले तीन जना महिलालाई फोनमार्फत सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पार्दै यौनधन्दामा लगाएको आरोपमा पक्राउ गरिएको हो। उनीहरूमाथि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यस्तै दोस्रो घटना लहान–३ अस्पताल चोक स्थित ‘अनलाइन होटल एण्ड लज’मा भएको छ। होटल सञ्चालिका अर्चनाकुमारी चौधरीले चार जना महिलालाई होटलमा बोलाई सप्तरीका अशोक कुमार चौधरी, नितिक कुमार चौधरी र आकाश चौधरीसँग मिलेर यौनधन्दामा संलग्न गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यस्तै तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एण्ड लज’मा भएको हो। होटल सञ्चालक गुज्जेश्वर साहले दुई जना महिलालाई होटलमा बोलाएर सप्तरीका शिवकुमार यादवसँग मिलेर जबरजस्ती यौनधन्दा गराएको आरोपमा पक्राउ गरिएको छ। यस घटनामा संलग्नलाई पनि सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले पीडित महिलाहरूको पहिचान गोप्य राख्दै सांकेतिक नाममार्फत कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। पछिल्लो समय होटल तथा निजी घरहरू प्रयोग गरी यस्ता अवैध गतिविधि बढ्न थालेपछि निगरानी कडा पारिएको प्रहरीले जानकारी दिएको छ।






