जनकपुरधाम, चैत १०। मिथिलाञ्चल क्षेत्रमा लोकआस्था र सूर्य उपासनाको महान् पर्व चैती छठ पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। चार दिनसम्म चल्ने यस पर्वको मुख्य दिन षष्ठी तिथिको साँझ व्रतालुहरूले जलाशयमा पसेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विशेष पूजा गरिरहेका छन्।
गत आइतबार चतुर्थी तिथिदेखि सुरु भएको यस पर्वअन्तर्गत दोस्रो दिन सोमबार “खरना” विधि सम्पन्न गरिएको थियो। उक्त दिन व्रतालुहरूले उपवास बस्दै कुलदेवता, सूर्य देवता र छठी मातालाई पूजा निम्तो दिएका थिए। आज षष्ठी तिथिमा पर्वको मुख्य अनुष्ठान अन्तर्गत सन्ध्याकालीन अर्घ दिइँदैछ।
यस अवसरमा घरघरमा गहुँ र चामलको पीठोबाट ठकुवा, खजुरिया, पेरुकिया लगायतका परिकार तयार पारिएका छन्। साथै नरिवल, केरा, सुन्तला, मुला, गाजर, बेसारका गाँठा लगायतका फलफूल तथा सामग्रीलाई नाङ्लो, ढाक्की र माटोका भाँडामा सजाएर परिवारसहित भजन–कीर्तन गर्दै घाटसम्म लगिन्छ। व्रतालुहरू पानीमा उभिएर सूर्य अस्ताउँदासम्म आराधना गर्दै अर्घ अर्पण गर्ने परम्परा रहेको छ।
छठ पर्वको अवसरमा गंगासागर, धनुषसागर लगायतका प्रसिद्ध तलाउ तथा ग्रामीण क्षेत्रका जलाशयहरू विशेष रूपमा सजाइएका छन्। ती स्थानहरूमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
धार्मिक मान्यताअनुसार द्रौपदी र पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि मिथिलामा छठ पर्वको परम्परा सुरु भएको विश्वास गरिन्छ। त्यस्तै सूर्यपुराण मा अनुसूइयाले पहिलोपटक छठ व्रत गरी सौभाग्य प्राप्त गरेको उल्लेख छ।
धार्मिकसँगै सामाजिक सद्भावको प्रतीक बनेको छठ पर्व हिन्दू र मुस्लिम समुदायले संयुक्त रूपमा मनाउने विशेष पर्वका रूपमा परिचित छ। आज साँझको अर्घपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै पर्व समापन हुनेछ।






