सप्तरी, चैत १० । राजविराज नगरपालिकाले मुख्य बजार क्षेत्रमा सडक मापदण्डभित्र परेका जग्गामा निर्माण गरिएका संरचनाहरु मंगलवार देखी डोजर लगाएर भत्काउन थालेको छ ।
हनुमानमन्दिर देखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत आग्रह गर्दा पनि अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन थालिएको नगरपालिकाले जनाएको छ ।
बीच सडको ९/९ मिटर दायाँ र बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।
उक्त सडक स्तरोन्नती र सौन्दर्यकरण कार्यको सडक डिभीजन कार्यालय लहानबाट टेण्डर भई निर्माण कार्य सूरु गर्नू पर्नेमा साईट क्लियरेन्स नहुदाँ समस्या उत्पन्न भएको थियो ।
सुरक्षाकर्मी तथा वडाअध्यक्षहरु सहित पुगेकी कार्यवाहक नगर प्रमुख परवीनको उपस्थितीमा डोजर लगाएर सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचनाहरु भत्काउन थालिएको छ । यसरी डोजर चलाउँदा केही स्थानीयले विरोध गरेका थिए ।
तर कार्यवाहक नगर प्रमुख परवीनले भोटको राजनितीक नगर्न तथा विकासका काममा राजनितीक स्वार्थ भन्दा माथी उठेर सबैलाई सहयोग गर्न आग्रह गरेकी थिइन । उनले सडक चौडा र सौन्दर्यकरण कार्य सकिएपछि १०÷२० जनाले मात्र होइन सिंगो नगरवासी नै लाभान्वित हुने जनाएकी छिन ।






