सेयर बजार ८ महिनाकै उच्च बिन्दुमा, ६ कम्पनीको मूल्य १०% ले बढ्यो



काठमाडौं,  चैत १०। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ८ महिनाकै उच्च बिन्दुमा पुगेको छ।  मंगलबार २३.८३ अंकले वृद्धि हुँदै नेप्से २९६० अंकमा पुगेको हो, जुन गत साउन १३ गतेयताकै उच्च स्तर हो।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार १४ अर्ब ८३ करोडमा सीमित रह्यो।  आज १३६ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा व्यापार समूह सबैभन्दा बढी ९.१२ प्रतिशतले बढेको छ। यस समूहअन्तर्गत पर्ने विशाल बजार कम्पनीको मूल्य ९.९१ प्रतिशतले वृद्धि भएपछि समग्र समूह उकालो लागेको हो।  यसैगरी बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११ र उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशतले बढेका छन्।

तर होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका केही समूहमा सामान्य गिरावट देखिएको छ।

मंगलबार ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर , हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन रहेका छन ।
केही कम्पनीको सेयरमा गिराबट समेत आएको छ । सबैभन्दा बढी गिरावट फर्स्ट माइक्रोफाइनान्सको ६.५६ प्रतिशत रहेको छ।

यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५.११ प्रतिशत र मेरो माइक्रोफाइनान्स ४.५३ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, एपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट रहेका छन्।

प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलवार १५:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको