काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई केवल निर्वाचनमा सीमित गरेर नहेर्नुपर्ने बताएका छन्।
मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना नै निर्वाचन जित्नका लागि मात्र नभएको स्पष्ट पारे।
“के निर्वाचन नै सबै कुरा हो? हामीले २०७४ जस्तो प्रतिकूल अवस्था पनि भोगेका छौं। पार्टी स्थापना हुँदा निर्वाचन जित्ने उद्देश्य मात्रै थिएन,” उनले भने, “पहिले पार्टी आयो, त्यसपछि मात्रै निर्वाचनको व्यवस्था आयो। हामीले नै निर्वाचन प्रणाली स्थापना गरेका हौं।”
उनले नेपाली कांग्रेसले आफ्नो भूमिकालाई फराकिलो रूपमा बुझ्नुपर्नेमा जोड दिँदै पार्टीभित्र व्यापक सुधार आवश्यक रहेको बताए।
सभापति थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। आफूले महाधिवेशनको गाडि अघि बढाइसकेको उल्लेख गर्दै उनले अब त्यो प्रक्रिया नरोकिने जिकिर गरे।
“मैले सभापतिको रूपमा गाडि हाँकेको छु, अब यो गाडि रोकिँदैन,” उनले भने, “हामी सबैलाई समेटेर अघि बढ्छौं, कसैप्रति पूर्वाग्रह राखिँदैन।”
उनले विशेष महाधिवेशनमा को सहभागी भयो वा भएन भन्ने विषयलाई लिएर मनमा राख्न नहुने समेत स्पष्ट पारे।
सभापति थापाले निर्वाचनमा सक्रिय रूपमा नलागेकाहरूलाई विशेष महाधिवेशनको महत्व नबुझिने टिप्पणी गरे।
“जसले मत माग्नुभएन वा मतदानमा सहभागी हुनुभएन, उहाँहरूलाई यसको महत्व थाहा हुँदैन,” उनले भने।
उनले निर्वाचनमा सक्रिय रूपमा खटिएका कार्यकर्ताहरूको सुझावलाई आफूले प्राथमिकता दिएको पनि बताए।
सभापति थापाले आफूले दिएको राजीनामा हतार वा दबाबमा नभएको स्पष्ट पारे। विश्वप्रकाश शर्मासमक्ष पार्टी विधानअनुसार राजीनामा पेश गरेको जानकारी दिँदै उनले यसलाई जवाफदेहिताको रूपमा लिएको बताए।
“मैले हतार वा हतासमा आएर राजीनामा दिएको होइन। यो मेरो जिम्मेवारी बोधका आधारमा लिएको निर्णय हो,” उनले भने।
उनले विशेष महाधिवेशन नगरी निर्वाचनमा जानु चुनौतीपूर्ण भएको स्वीकार गर्दै त्यसबाट सिक्दै अघि बढ्नुपर्ने बताए।






