जनकपुरधाम, चैत ११ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मधेस प्रदेशले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
वीरगञ्जस्थित नारायणी रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याएको मधेस प्रदेशले ३३.४ ओभरमा पाँच विकेटको क्षतिमा १६१ रन बनाउँदै सहज जित दर्ता गर्यो।
मधेस प्रदेशको जितमा अरनिको यादवले ४६ रनको महत्वपूर्ण योगदान दिए भने मोहम्मद आदिल आलमले ३४ र पवन सर्राफले २१ रन जोडे।
सुदूरपश्चिमका लागि अभिषेक पालले ४५ बलमा ३३ रन बनाए भने किरण ठगुन्नाले २३ रनको योगदान गरे। बलिङतर्फ मधेसका अरनिको यादवले तीन विकेट लिए भने प्रदीप पासवानले दुई विकेट झारे।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबजस्ता विभागीय टोलीसहित सातै प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्






