काठमाडौं, चैत १४ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई लाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली, एसएसपी सन्तोष खडकाको नेतृत्वमा ओली निवास पुगेको थियो। यसअघि नै ओलीलाई पक्राउ गर्न प्रहरी टोली रातिदेखि नै परिचालन गरिएको थियो। सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुरको कुटुन्जेस्थित निवासबाट आज बिहानै पक्राउ गरिएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनासम्बन्धी अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा लापरवाहीपूर्वक ज्यान गएको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार अनुसन्धान अघि बढाइएको छ।
तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षकचन्द्र कुवेर खापुङ्ग सहितका व्यक्तिमाथि उक्त कसुर लागेको उल्लेख छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै गृहमन्त्री सुदन गुरुले घटनाको अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
महान्यायाधीवक्ता कार्यालय स्रोतका अनुसार मृतक तथा घाइतेका परिवारले दर्ता गराएको जाहेरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक चरणमा प्रहरीले जरुरी पूर्जीका आधारमा पक्राउ गरेको बताइएको छ।
प्रहरीले पक्राउपछि कानुनी प्रक्रिया अनुसार उनलाई पक्राउ पूर्जी प्रदान गर्ने, स्वास्थ्य परीक्षण गराउने तथा हिरासतमा राख्नेछ। साथै, २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने कानुनी व्यवस्था रहेको छ।
नेपालको इतिहासमा पूर्वकार्यकारी प्रमुखमाथि ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना भएको बताइएको छ।






