काठमाडौं, चैत १४ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई तत्काल बिदा नदिन निर्देशन दिएको छ। प्रशासन शाखाले शनिबार मातहतका सबै निकायलाई परिपत्र गर्दै प्रसूति र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नछाड्न र सिफारिस नगर्न आग्रह गरेको हो।
सन्तोष निरौलाद्वारा जारी पत्रमा भनिएको छ, “हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्म प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न अनुरोध गरिन्छ।”
यसैगरी, बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिइएको छ। पत्रमा उल्लेख छ, “हाल कार्यालय प्रमुखको जिम्मेवारीमा रही बिदामा रहेका प्रहरी अधिकृतहरूलाई अविलम्ब कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउन हुन अनुरोध छ।”
यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पठाइएको छ।
प्रहरी प्रधान कार्यालयले यो कदम जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन र नेकपा एमालेद्वारा देशभर विरोध प्रदर्शन भइरहेको अवस्थालाई मध्यनजर गर्दै चालेको हो।






