काठमाडौं, चैत १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले अस्थिरताको जोखिम बढने आशंका व्यक्त गरेकी छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भण्डारीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि गरिएको निर्णय हतारमा भएको र त्यसले दूरगामी प्रभाव पार्न सक्ने उल्लेख गरेकी छन्।
विज्ञप्तिमा भनिएको छ, “कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको अवस्थामा सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु अत्यन्त संवेदनशील विषय हो।”
उनले कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुनेमा जोड दिएकी छन्। हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढ्न सक्ने उनको भनाइ छ।
भण्डारीले वर्तमान सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेकी छन्। साथै, लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै संयमता अपनाएर अघि बढ्न सरकारलाई सुझाव दिएकी छन्।
उनले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन सरकारलाई आग्रह समेत गरेकी छन्






