ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिँदै



काठमाडौं, चैत १४ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमाले आन्दोलनमा उत्रिने भएको छ।

एमालेका सचिव महेश बस्नेतका अनुसार पार्टी अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन कार्यक्रम आयोजना गर्न लागिएको हो। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता तथा कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।



बस्नेतले लेखेका छन्, “प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं।” उनले कार्यक्रमको विस्तृत विवरण केही समयमै सार्वजनिक गरिने जानकारी दिएका छन्।

भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो।

सचिव बस्नेतले उक्त पक्राउप्रति आपत्ति जनाउँदै यसले मुलुकमा द्वन्द्व बढाउने खतरा रहेको बताएका छन्। उनका अनुसार यस्तो कदमले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउने संकेत देखिन्छ।

त्यसैगरी, उनले नेपाल प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। जेनजी आन्दोलनका क्रममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रहरी अहिले भने नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ चैत्र १४, शनिबार ०८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको