काठमाडौं, चैत १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन्।
उक्त मागमाथि हाल जिल्ला अदालत काठमाडौंमा बहस भइरहेको छ। सरकारी पक्षले जरुरी पक्राउ पुर्जीको समर्थन गर्दै म्याद थपका लागि निवेदन दर्ता गराएको हो।
यता, ओली र लेखक पक्षका वकिलहरूले भने थुनामा राख्न आवश्यक नरहेको दाबी गर्दै जवाफी बहस गरिरहेका छन्।
जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनाको अनुसन्धानका लागि गठित आयोगले दुवै नेताविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार बिहान पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उक्त आन्दोलन गत भदौ २३ र २४ गते भएको थियो। त्यसबेला ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्री रहेका थिए।






