काठमाडौं, चैत १५ । प्रतिनिधि सभा निर्वाचनअघि प्रमुख तीन दलका तर्फबाट प्रधानमन्त्री बनेका तीन पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
अनुसन्धानमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। विभागले यस सम्बन्धमा प्रहरीलाई पत्राचार गरिसकेको छ र संयुक्त रूपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार, तीन पूर्वप्रधानमन्त्रीसँगै पूर्वमन्त्री आरजु राणा देउवा, दीपक खड्कालगायत उनीहरूका परिवारका नाममा रहेका चल–अचल सम्पत्ति तथा आम्दानीका स्रोतबारे पनि छानबिन भइरहेको छ। भूषण राणामाथि समेत अनुसन्धान जारी रहेको बताइएको छ।
यसैबीच, प्रहरीले केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी मुद्दामा शनिबार पक्राउ गरेको थियो। उक्त मुद्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानभन्दा अलग रहेको जनाइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान गरिरहेको छ भने ज्यानसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले हेर्दै आएको छ।
हाल शेरबहादुर देउवा दम्पति विदेशमा रहेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूषण राणालाई पक्राउ गरिएको छैन।






