काठमाडौं, चैत १५ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई अदालतमा उपस्थित गराउन नसकिएको भए पनि आज अदालत खुल्नासाथै पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
गत भदौ २३–२४ गते भएको जेनजी प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। सो क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सरकारी संरचना तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।
घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदाधिकारीलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।
प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनीहरूलाई चैत १४ गते बिहानै भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो।
पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।
ओली र लेखकको पक्राउपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा एमाले र कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन्।






