काठमाडौं, चैत १५ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
पार्टीका सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी ९सीडीओ० समक्ष विरोधपत्र बुझाइनेछ। ओलीको तत्काल रिहाइको माग गर्दै एमालेले निरन्तर आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको थियो। पक्राउपछि एमालेले यसलाई ‘गैरकानुनी र पूर्वाग्रही’ कदम भन्दै आपत्ति जनाएको छ।
यसअघि बसेको एमाले सचिवालयको आकस्मिक बैठकले दुवै नेताको रिहाइको माग गर्दै देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको थियो। सोही कार्यक्रमअन्तर्गत शनिबार काठमाडौंको माइतीघर–बिजुलीबजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भने कुनै पनि व्यक्तिविरुद्ध प्रतिशोध नराखिएको दाबी गरेका छन्।
पक्राउ परेका ओली र लेखकलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने तयारी गरिएको छ।




