काठमाडौं, चैत १६ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति धुम्बाराहीस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो ।
एमाले महासचिव शंकर पोखरेल निकट मानिने शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी दुर्व्यवहार गरेको आरोप छ । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित उनको घरबाट ती बालिकाको उद्धार गरेको थियो ।
उद्धारपछि शर्मामाथि बालिकालाई कुटपिट गर्ने, बाहिर जान नदिने, उचित बसोबासको व्यवस्था नगर्ने तथा मानसिक यातना दिने जस्ता आरोप लगाइएको थियो । त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाह ले पनि सार्वजनिक रूपमा उक्त घटनाप्रति प्रश्न उठाएका थिए ।
घटनासम्बन्धी जाहेरी २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता गरिएको थियो । महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ ९२००९ङ० अनुसार कसुर भएको दाबी गरेको छ । उक्त प्रावधान अनुसार बालबालिकामाथि शारीरिक वा मानसिक हिंसा गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।
प्रारम्भिक चरणमा मुद्दा अघि नबढेको भन्दै त्यसबेला मेयर शाहले असन्तुष्टि जनाएका थिए । पछि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भएपछि उनले सामाजिक सञ्जालमार्फत माफीसमेत मागेका थिए ।
यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले अन्ततः बालिकालाई अभिभावकसँग पुनर्मिलन गराउँदै उनको इच्छा अनुसार काठमाडौंमै बसोबास र अध्ययनको व्यवस्था मिलाउन आदेश दिएको थियो ।
हाल पुरानो मुद्दा पुनः सक्रिय भएपछि सांसद शर्मा पक्राउ परेकी हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।






