पोखरा, चैत १७ । कास्की प्रहरीले पोखरामा अवैध रूपमा सञ्चालन गरिएको ट्रान्स पार्टीमा छापा मारेर विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८ स्थित एक घरमा रातभरि ट्रान्स पार्टी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा मध्यरातमा छापा मारिएको हो। उक्त घर स्थानीय कृष्ण पराजुलीको रहेको र बमेन्द्र पुनले भाडामा लिएर पार्टी आयोजना गरिएको अनुसन्धानबाट खुलेको छ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार घटनास्थलबाट विभिन्न ९ प्रकारका लागुऔषध बरामद गरिएको छ। बरामद लागुऔषधमा एमडीएमए, कोकिन, चरेश, खात, आइस (एम्फेटामाइन), म्याजिक मसरुम, पेपर एलएसडी लगायत रहेका छन्।
पक्राउ परेकामध्ये ८ जनामाथि लागुऔषध सम्बन्धी कसुर र ४ जनामाथि अभद्र व्यवहार मुद्दा चलाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतीय र ब्राजिलका नागरिकसमेत रहेका छन्।
प्रहरीका अनुसार उक्त पार्टी भारतका अनुभव शर्मा र नेपालका बमेन्द्र पुनको संलग्नतामा आयोजना गरिएको थियो। साथै, अन्य नेपाली सहभागीहरू पनि घटनामा संलग्न रहेको खुलेको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ। विदेशी नागरिकसमेत संलग्न भई लागुऔषधसहित पार्टी सञ्चालन भएको घटनालाई गम्भीर रूपमा लिँदै कडाइका साथ अनुसन्धान भइरहेको जनाइएको छ।






