जनकपुरधाम, चैत १७ । देशभर आज र भोलि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ, जसका कारण मौसम बदली भएको हो।
आज (मंगलबार) दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेश लगायत पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।
त्यस्तै बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले हावाहुरी, चट्याङ, असिना र वर्षाबाट हुन सक्ने क्षतिबाट जोगिन सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।






